अन्तरिक्ष यात्रामा फोटोग्राफीको पक्ष सधैँ महत्वपूर्ण रहन्छ। अन्तरिक्ष यात्रीले खिचेका तस्विरको सहयोगले मान्छेले हजारौं माइल टाढा भएको रहस्यबारे थाहा पाएका थुप्रै उदाहरण छन्।अन्तरिक्ष यानबाट तस्विर लिने काम आफैँमा खेलाँची कुरा हैन। अन्तरिक्ष यान बन्दूकबाट निस्केको गोली बराबरको रफ्तारमा घुमिरहेको हुन्छ । यस्तो अवस्थामा एकाग्रता तथा कौशल देखाएर धेरैभन्दा धेरै तस्विर खिच्न सहज हुँदैन।
अमेरिकाका डन पेटिट एकजना रासायनिक इन्जिनियर हुन्। नासाका अन्तरिक्ष यात्री उनले इन्टरनेशनल स्पेस स्टेशनबाट पृथ्वीका थुप्रै तस्विर लिएका छन्। अहिलेसम्म उनले कूल मिलाएर एक वर्षभन्दा बढी समय इन्टरनेशनल स्पेस स्टेशनमा बिताइसकेका छन्। उनले खिचेका १२ लाख तस्विर १४ वर्षको अवधिमा अन्तरिक्षबाट जुटाइएका वैज्ञानिक सबुत प्रमाण सामग्री हुन्।
हालै उनको अन्तरिक्षको फोटोग्राफीमाथि स्मगमग फिल्म्सले एक भिडियो सार्वजनिक गरेको छ।
बुलेटभन्दा तीब्र गति
इन्टरनेशनल स्पेस स्टेशनबाट फोटो लिनु एउटा चुनौतीपूर्ण काम हो। त्यहाँ केही झ्यालहरु यस्ता छन् जहाँबाट तस्विर लिन सकिन्छ। धेरै ठाउँ प्राविधिक उपकरण तथा सोलार प्यानलका राखिने हुनाले फोटो लिन धेरै ठाउँ भने हुँदैन। झ्यालमा ६ देखि ८ वटा क्यामेरा राख्न मिल्छ। राम्रो कुरा यो हो कि त्यहाँबाट फोटो लिन ट्राइपडको जरुरत पर्दैन।
'तपाइँ ८ किलोमिटर प्रतिसेकेन्डको गतिमा हिँडिरहनुभएको हुन्छ जो बुलेटको गतिभन्दा छिटो हो। पृथ्वीको गति पनि तीब्र हुनेगर्छ', उनी भन्छन्। अन्तरिक्षबाट हेर्दा पृथ्वी गजब राम्रो देखिने उनको अनुभव छ। एक हेराइमा आधा महाद्विपमाथि नजर गर्न सकिने उनको अनुभव छ।
Post a Comment